Showing posts with label nepali poems. Show all posts
Showing posts with label nepali poems. Show all posts

Monday, July 7, 2014

कहिलेकाहीँ दैनिकीमा ease छैन

Sandwich खाउँ भनेर फ्रीज खोल्यो
त्यहाँ खोजेको चीज छैन।
साइकल चढेर क्याम्पस जाउँ भन्यो
च्याँ..च्याँ...चेनमा ग्रीज छैन।।

कालो महङ्गो जिन्स, cold-handwash
डिटर्जेन्ट पानीमा घोल्यो, फिँज छैन।
Teaching Assistant, फर्मल लवाइको पाइन्ट
मुजै मुजा, कुनै सिधा क्रिज छैन।।

पार्किङ्ग लटमा गाडी, फ्लोरिडाको गर्मी
छायाँ दिने कुनै trees छैन।
सपनीमा पोखरामा साइकल यात्रा
फिर्के खोला पुग्यो, कुनै bridge छैन।।

हरेक पल, युद्ध, बिस्फोट ... मृत्युसँग जुध्न विवश
मेरै छिमेकीतर्फ आँखा चिम्लिदियो...
मेरा यस्तै, यिनै फिस्टा झमेला देख्यो...
(निर्लज्ज भन्यो) कहिलेकाहीँ दैनिकीमा ease छैन।।

Sunday, December 16, 2012

उड्दा उड्दै

यदा कदा कुँजिएका
उसका पंखहरु खुकुलाएर,
पूर्ण फैलाएर
एक चुचुरोदेखि अर्को टाकुरासम्म
हुरिका छालहरुमा हुर्रिँदै
तलदेखि माथि
माथिदेखि अझ माथि
तिव्र तैरिने
निस्फिक्री उडानहरु;
सपनीका
ती मीठा, रोमाञ्चक अध्यायहरु
उसको विपनीका
वास्तविकताहरु नै हुन् ...
ऊ उडिरहेकै छ
र उसलाई
लौकिक जञ्जिरले जकडिएका,
धर्तीमा टाँसिएर
मधुरो पिल्पिलाउने ती नयनहरु
नउडिरहेको देख्न सक्दैनन्।
तर, यो यथार्थ
उसका निम्ति
फगत् एक मिथ्या हो ...
ऊ निसास्सिएको छ।
आकाशका भत्किएका भित्ताहरु
उसलाई अँठ्याइरहेछन्;
ती मुलायम बादलु स्पर्शहरु
उसलाई कोत्रिरहेछन् ...
वतासमा घस्रिरहेको ऊ
अझै स्वतन्त्रता चाख्ने
चेष्टा राख्छ,
अझै ती आलौकिक शाङ्ला चुँडाल्ने
चाहाना पोख्छ,
अझै उड्ने सपना देख्छ
र हानिन्छ
अन्नतको त्यो
असिमित शून्यतातर्फ।

Sunday, June 3, 2012

मेरो आज्ञाकारी सिउरी

मेरो सानो कोठामा
छरिएका वृहत् कृत्रिमता
देखेर म त्यसै दङ्ग छु।
वैज्ञानिक विलाशिताको
भोग गर्ने भाग्य जुराइदिने
ईश्वरप्रति कृतज्ञ
एक मानवका नाताले
स्वनिर्मित केही
बनाउनुपर्यो भनेर
शिशाको टेबुलमाथि
प्लाष्टिकको गमलामा
कुहिएको गोबर, आलो माटो मोलेर
सिर्जना गरिएको
सानो धर्तीको टुक्रामा
म एक बित्ते सिउरी रोप्छु।
म देख्छु
त्यो सिउरी
एक दिउरी पानी हाल्दा
कति मख्ख हुन्छ, कुत्कुतिन्छ
नाच्छ, रमाउँछ, हँसाउँछ...
अनि 'हजुर! हजुर!' पनि भन्छ,
मानौँ ऊ मेरो चाटुकार नै हो
मेरो दुविधाको सुविधा।
कुनै विचार आउँछ,
एक पोको हावा
फु गरेर ऊपट्टि धकेल्छु,
ऊ तल माथि हल्लिन्छ
र भन्दिन्छ 'विचार ठीक छ'।
कहिलेकाहीँ कतैबाट
बाह्य वैचारिक मन्थनको समीर चल्छ,
मेरो सिउरी दायाँ बायाँ हल्लन्छ;
म झ्याल बन्द गर्छु,
पुन: फुक्न थाल्छु
र अन्त्यमा म ऊबाट
'हजुर' नै उघ्राउँछु।
मद्वारा निर्मित ऊ मेरो नयाँ साथी,
गमलाभित्र स्वतन्त्र,
मेरो अहँकारप्रति वफादार,
मेरो कृत्रिमताको आज्ञाकारी,
मेरो सिउरी।


कस्तो राम्रो प्रारब्ध!

Tuesday, November 23, 2010

मेरा ईश्वर मेरो व्याख्या?

आँफैभित्रका चर्का
कल्याङ् मल्याङ् सुन्दा सुन्दा
मेरा मश्तिष्कका तन्तु
सबै गलिसक्दा,
स्वार्थका गन्धहरु
पछ्याउँदा पछ्याउँदा
लाल मेरा आँखा
त्यसै थाकिसक्दा ...
आनन्दको तिर्खा व्याप्त हुन्छ ।
भो! भएन!
अब मेरा भगवान देख्नु पर्यो
मेरा देउता सुन्नु पर्यो
भन्दै एक टक
अचल भइ
टक्क कुर्सीमा अडिन्छु
अनि टेबुलको फुस्रो धुलोमाझ
जेलिएका चिल्ला धर्साहरु
पछ्याउँछु जहाँ
एक एब्स्ट्रयाक्ट चित्र बन्छ
एक विचित्र आकृति कोरिन्छ...
र उता
घडीको टिक् टिक्, टिनिनि घण्टी बज्छ
कम्प्युटरको स्वाँ, कर्णप्रिय मन्त्र जप्छ
म पाउ पर्छु, प्रणाम गर्छु
मैले अनुभव गरेको मेरा ती ईश्वरलाई
अनि चेष्टा गर्छु
कि म भोलि फेरि
मन्दिरभित्रको त्यो ढुङ्गोमा
मेरा देउता अर्थ्याउनेछु
सल्लाघारीको कुनै एक बोटको
आउँदो सालको लालीगुराँस
अर्पण गर्दै
मनको शान्ति, मेरो स्वार्थ
ग्रहण गर्नेछु ।

Thursday, October 14, 2010

ऊ विक्रीमा छ

सहरमा घाम डुबेपछि,
मसानघाटमा कन्दमुल
खोस्रिँदा खोस्रिँदा थाकेपछि,
वागमतीमा बगेको क्लेश
अनि आफ्नो अनकण्टार देश
मनमा सजाउँदै
ऊ आफ्नो वरपर
सल्किन आँटेका
रहरका उज्याला विन्दुहरुमाझ
दुई-चार तिर्खाका धागा गाँसेर
भरेको स्वप्न कंकाल
बुन्न थाल्छ,
अनि त्यसै टोलाउँछ...
कुनै दिन तिनै झिलिमिलिहरु
उसले उडेर छुन खोजेका
चन्द्र र तारा हुने गर्दथे।
कति सटिक थियो
उसको त्यो सोचाइको यात्रा।
उसका रसीला, मीठा
ती विगतका सपनाहरु...
तर खै के भयो...
उसले गर्न सकेन,
वा त्यो रुखो सहरले
उसलाई गर्न दिएन,
वा उसको दरिद्र भाग्यमा नै
त्यो थिएन...
उत्तरका प्रस्फुटनहरु
मैलो हातको
चाम्रो, बासी पाउरोटी चुँड्दै
ऊ निख्लै निलिदिन्छ,
अनि ऊ यसो सम्झन्छ
आफ्नो भोलिको मोल मोलाई
किनकि ऊ विक्रीमा छ ।
ऊ केहि हलुङ्गा नोटहरुमा
विक्री हुन सक्ने रापिलो ऊर्जा हो
जो केहि शिशा फोरेकै भरमा
त्यो सहरको नक्सा बदल्न सक्छ ।
जो केहि टायर बालेकै भरमा
त्यो सहरको दम्भ गलाउन सक्छ ।

Monday, January 4, 2010

बदलिएको यात्रा

आज यात्रा अयात्रीमा
नयाँ यात्रा
तय गरिरहेछ...
कोशेढुङ्गा र साँधहरुलाई ठेल्दै
उसको गन्तव्य
ऊतर्फ हानिरहेछ...
सडक सरिरहेछ, बाटो बगिरहेछ
मोडहरु स्वतः बाङ्गिरहेछन् ...
कान्ला, खोपिल्टाका
सुनसान बस्तीहरु
शीशामा आइरहेछन् .. गइरहेछन्।
आकाशमा पिल्पिल्याउने धुलाहरु
धर्तीका एक आध ताराहरु
छमछम नाचेका ती
छद्मवेशी छविहरु ...
मनमोहकता छर्किरहेछन् ।
कुर्सीमा, उसको अनिश्चित स्थीरता
घुम्तीमा यता उता ढल्किरहेछ ।
कसरतरहित आनन्द ...
यो उन्मुक्त यथार्थ
उसको बनावटी वास्तविकतालाई
त्यो भ्रामक पर्दाबाट खुर्किरहेछ ...
कोत्रिरहेछ
तार, तरङ्ग र जालमा
बुनिएको उसको जाली संसार ।

पुरानो कैदी कुर्सीदेखिको
यो नौलो स्वतन्त्रता...
परिवर्तित पर्दा ...
अनि अयात्रीमा हिँडिरहेको
उसको बदलिएको यात्रा ।।

Wednesday, October 14, 2009

शहीद हुनु छैन आमा

एक अपरिचित मित्रमार्फत प्राप्त ...उहाँको भावनाको 'प्रतीक' .. यो कविता ,जसको 'अधिकारी ' स्वयम् उहाँ नै हुनुहुन्छ

सुन आमा, तिम्रो छोरो शहीद हुनेछैन |
ऊ त हुनेछ आँधी,
देश चिरेर सपरिवार वनविहार गर्न हिड्ने निरोपुत्र जनकका
ज्वलन्त राँकाहरु निभाउने आँधी |
ऊ त हुनेछ अग्नि,
राजमार्ग छेऊ दिनहुँ अस्मिताको ब्यापार गर्ने सीताको
सतित्वको परीक्षा लिने अग्नि |
ऊ त हुनेछ भेल
रातको दोश्रो प्रहरमा बागमती चोरी काठमाडौँ डुबाउने शंखधरलाई
बगाएर लाने भेल |
ऊ त हुनेछ मुङ्ग्रो
चाणक्य, कौटिल्यका पाउ मोल्ने हाम्रा अन्शुवर्माहरुका
कोमल हात किच्याउने मुङ्ग्रो |
ऊ त हुनेछ आवाज
राम शाहका शब्द बोकी बहिरा कानका माकुराका जालीलाई
चिर्ने गगनभेदी आवाज |
ऊ त हुनेछ हेम्लक
बीयरको चुस्की लगाई भाडाको चिन्तन गर्ने सुकरातहरुको
सांस रोक्ने तातो हेम्लक |
ऊ त हुनेछ पहिरो
लाश को सगरमाथा चढ्न खोज्ने तेन्जिंग अनि पासांगहरुलाई
सोत्तर पार्ने पहिरो |
ऊ त हुनेछ ऐना
पद्लोलूप हुन पुगेका हाम्रा घाटे भीमसेन थापाहरुलाई
बुढ्यौली को भान गराउने ऐना |
ऊ त हुनेछ कोदालो
सुस्ता, कालापानीमा गढ छोड्ने हाम्रा बलभद्रहरुको
चिहान खन्ने कोदालो |
ऊ त हुनेछ ताप
उधारोको कला र भाषा थोपर्ने अवसरवादी अरनिकोहरुको
सिर्जना खरानी पार्ने ताप |
ऊ त हुनेछ भूकम्प
जनता को टाउकामा हरदम बूट बजार्न उद्यत भक्ति थापालाई
धराशायी बनाउने भूकम्प |
ऊ त हुनेछ तरङ्ग
पहिचान खतरामा पर्दा भाषा प्रयोग गर्न हिच्किचाउने भानुभक्तको
जिब्रो जलाउने बिजुली को तरङ्ग |
सुन्यौ आमा? राहत को सास फेर
कम से कम तिम्रो छोरो शहिद त भएर मर्ने छैन |
नरोऊ आमा, म शहीद हुने छैन ,
शहीद त आजकल,
घरझगडामा कुटियेर, गाडीबाट किचियेर,
झड़पमा मारियेर, बेपत्ता पारियेर,
दिनदिनै लाखौको भीडमा मिसियिरहेछन,
सरकारी क्षतिपुर्तिको मोहताज भएर |
र, अन्त्यमा बिलाईरहेछन कुनै स्मारकको
भित्तामा खुइलिएको नाम भएर |

Thursday, April 2, 2009

कक्षाकोठामा

कालोपाटीका सेता...
अाकार अाकारका धर्साहरु,
अश्वेत अनि अँध्यारा
ठूला ठूला क्षेत्रफलहरु
सिमांकित सधैं कति गर्दछन्?
फुस् फुस् सेतो धुलो...
ख्याक् ख्याक्...
रोजी रोटीका निम्ति खोकी
र हातका ती
पहेंला पुराना पानाहरु...
हिजो बेलुका,विगतका बुझाइहरु...
जो पुन: लिपिबद्द छन्...
अाजका जोशिला कागजहरुमा...
खै किन सधैं
यस्तो हस्तान्तरण व्यापार...
बस् पढाउनका लागि पढाइ?
खै के अाकृति छ
ती किताब अनि नोटबुकका
रङ्गी चङ्गी अक्षरहरुमा...
जहां अनिश्चयका भुतहरु...
बेला बेलामा
सल्बलाउँदै झस्काउने गर्दछन्?
उफ् यो अालश्यता...
मेरो अनविज्ञताको
यो अोझेलो...

Saturday, February 21, 2009

म निदाउन सकिनँ

हो...
म अब सुतेँ ;
सुत्न पाउनु मेरो अधिकार हो..
मेरो शारीरिक थकानको
अचुक अाराम हो ;
तर...
मेरो सुताइमा
विवेकको शून्यताको
अाभाष छैन ,
चेतनाको विहानमुक्त
अचेतना छैन ,
मात्रै छन् त
बस्
मानसपटलमा...
उज्जवल आतंकको आँधी..
अभिनाषी क्रान्तिको भ्रान्ति..
अनि ती
भोकाकुल...शोकाकुल
मेरा चाहानाहरु
जो यत्र तत्र
भट्की रहेछन्
बस् तिनै
खोक्रा मादकताको
अर्थहीन खोजीमा...
म विवश छु...
लाग्छ
कुनै एक टेन्सनको पोको हो
यो मेरो जिन्दगी..
जो हरेक रात फुस्किएर
टङ्ल्याङ टुङ्ल्याङ गर्दै
पोखिन्छ मेरो टुसे निद्रामा !
साँचै ..म त
मात्रै पल्टिरहेछु
अभिनव स्वप्नको अभावमा..
अनुपम सुवासको
कल्पनाकृत प्यासमा..
र म
निदाउन सकिनँ ।

Monday, October 20, 2008

म र मेरो पंखा

विहान घाम उदायो...
र म ब्युँझेँ...
अनि मैले सम्झेँ
अाफुलाई....मेरा वास्तविकताहरु...
तर
म ब्युँझिएको रहेनछु...
ब्युँझाइएको रहेछु..
पहिलो लेक्चर सुन्नुपर्ने
वाध्यताद्वारा...
र म विरोध गर्न सक्दिन।
यता उता
धमिला भित्ताहरु...
माथि
पंखा घुमिरहेछ...
यो त सधैँ घुमिरहन्छ..
सुसेली रहन्छ..
त्यो सानो सानो
हुरीको धुन,
जसमा के छ ...?
माया ...पीडा... रोदन
बुझ्ने चेष्टा म गर्दिन..
किनकि यो मेरो अनविज्ञता
मेरो शक्ति हो...
मेरो गर्मीको शीतलता हो...
मेरा अधिनायकवादी औँलाहरु
उसको रेगुलेटरका
चालक हुन्...
ऊ मेरो दास हो,
र म
मेरै अधिनायकवादी परिस्थितिहरुको
एक विवश गुलाम हुँ।
‌

Saturday, August 9, 2008

चित्रभित्र आकाशमा

अदृश्य क्षितिजसामु
कोही उभिएर
अनन्त आकाशको संकुचन
च्यातिएरह‍ेछ अनि
केही खाेजिरहेछ
त्याे निलाे गहिराइमा ..
त्याे अपार साँधहीनताबीच,
जहाँ स्वयम् ऊ बिलाइरह‍ेछ ..
जहाँ सबै हराइरहेछन्
र जहाँ
हराउनु बाध्यता हो |
र ..त्यहाँ कोही
केही गुंजन
पछ्याइरहेछ
अनि मागिरहेछ
त्यो निर्वाध स्वतन्त्र उडान
जसलाई हुरीको वेग स्वीकार्य छ...
जसमा
चट्याङ्गका हरेक गर्जन
पाखा पाखामा रेटिने
सारंगीका अाँसु बन्छन्
र ती अल्प पलका
उज्यालाहरू...क्षणिक झल्काहरू
कालरात्रिमा
त्यो अनिश्चित मार्गका
आसपासमा
बल्ने बत्तीहरू हुन् |
मुलायम बादालू स्पर्शबीच
त्यो सफर एक भ्रम हो ;
अवादलहरुबीच त्यो
एक क्रान्ति हो ...
जसमा सबै छन्
र कैयाैँ त्रसित
छन्
जो कल्पिरहेछन्
माेडपारिका अनिश्चयहरु
जो साेचिरहेछन्
हाेडभित्रका परिचयहरु...
लक्ष्यको अर्थहीनतामा
उम्लिएका
क्रोधहरू
क्लेष पाेतिएकाे
त्यो सजीव चित्रका
अवान्छित् टाटा
हुन् |
तर कोही ..
चित्रभित्र आकाशमा ..
त्यो सपनीको अमुर्ततामा ..
आफैँलाई खाेजिरहेछ ,
बाँच्नुकाे अर्थ काेट्याइरहेछ|

Wednesday, July 23, 2008

चर्चित कथाहरु

ती सबै
अाजका चर्चित कथा हुन् |
ती कथा हुन्
किनकि तिनमा
पात्रहरुको ब्यथा छ ...
पात्रहरुको आहुति छ !
तिनमा परिस्थिति
अनि समयका चोटहरु छन् |
तिनै कथामा
शाेषक समाजका
स्वार्थी
प्रष्फुटनहरु छन् ...
जसका बिष्फोटसंगै
ती एकल चरित्रहरुका
आशा,अाकांक्षा र सपनाहरू
क्षतविक्षत छन् ...
यस्त‍ैै मार्मिक पीडाहरूमा
बनेका छन् ती
‌‌‍‍चर्चित कथाहरु ;
तिनै
चर्चित कथाहरुमा
बगिरहेछन् यी
मार्मिक पीडाहरू ;
म यस्त‍ैै कुनै
‍कथा बन्न चाहान्न !
म तिनै दुःखमा जिउन चाहान्न !!