Wednesday, October 14, 2009

शहीद हुनु छैन आमा

एक अपरिचित मित्रमार्फत प्राप्त ...उहाँको भावनाको 'प्रतीक' .. यो कविता ,जसको 'अधिकारी ' स्वयम् उहाँ नै हुनुहुन्छ

सुन आमा, तिम्रो छोरो शहीद हुनेछैन |
ऊ त हुनेछ आँधी,
देश चिरेर सपरिवार वनविहार गर्न हिड्ने निरोपुत्र जनकका
ज्वलन्त राँकाहरु निभाउने आँधी |
ऊ त हुनेछ अग्नि,
राजमार्ग छेऊ दिनहुँ अस्मिताको ब्यापार गर्ने सीताको
सतित्वको परीक्षा लिने अग्नि |
ऊ त हुनेछ भेल
रातको दोश्रो प्रहरमा बागमती चोरी काठमाडौँ डुबाउने शंखधरलाई
बगाएर लाने भेल |
ऊ त हुनेछ मुङ्ग्रो
चाणक्य, कौटिल्यका पाउ मोल्ने हाम्रा अन्शुवर्माहरुका
कोमल हात किच्याउने मुङ्ग्रो |
ऊ त हुनेछ आवाज
राम शाहका शब्द बोकी बहिरा कानका माकुराका जालीलाई
चिर्ने गगनभेदी आवाज |
ऊ त हुनेछ हेम्लक
बीयरको चुस्की लगाई भाडाको चिन्तन गर्ने सुकरातहरुको
सांस रोक्ने तातो हेम्लक |
ऊ त हुनेछ पहिरो
लाश को सगरमाथा चढ्न खोज्ने तेन्जिंग अनि पासांगहरुलाई
सोत्तर पार्ने पहिरो |
ऊ त हुनेछ ऐना
पद्लोलूप हुन पुगेका हाम्रा घाटे भीमसेन थापाहरुलाई
बुढ्यौली को भान गराउने ऐना |
ऊ त हुनेछ कोदालो
सुस्ता, कालापानीमा गढ छोड्ने हाम्रा बलभद्रहरुको
चिहान खन्ने कोदालो |
ऊ त हुनेछ ताप
उधारोको कला र भाषा थोपर्ने अवसरवादी अरनिकोहरुको
सिर्जना खरानी पार्ने ताप |
ऊ त हुनेछ भूकम्प
जनता को टाउकामा हरदम बूट बजार्न उद्यत भक्ति थापालाई
धराशायी बनाउने भूकम्प |
ऊ त हुनेछ तरङ्ग
पहिचान खतरामा पर्दा भाषा प्रयोग गर्न हिच्किचाउने भानुभक्तको
जिब्रो जलाउने बिजुली को तरङ्ग |
सुन्यौ आमा? राहत को सास फेर
कम से कम तिम्रो छोरो शहिद त भएर मर्ने छैन |
नरोऊ आमा, म शहीद हुने छैन ,
शहीद त आजकल,
घरझगडामा कुटियेर, गाडीबाट किचियेर,
झड़पमा मारियेर, बेपत्ता पारियेर,
दिनदिनै लाखौको भीडमा मिसियिरहेछन,
सरकारी क्षतिपुर्तिको मोहताज भएर |
र, अन्त्यमा बिलाईरहेछन कुनै स्मारकको
भित्तामा खुइलिएको नाम भएर |

Sunday, October 11, 2009

ऊ दियालो बन्नुपर्छ

रुखा ,अँध्यारा
पर्खालहरु माझ
आज उसका
जिज्ञासु आँखाहरु
सिमानाहरु नियाल्दैछन् ।
साँधभित्रका ... बाहिरका
अन्य साँधहरुबीच
कुनै मैदान खोतल्दैछन्
उसका जोशिला हातहरु ...
मानौँ युवा आगो
कतै झिल्सिहाल्न उत्सुक छ
सल्किहाल्न इच्छुक छ ...
त्यो तेज ज्वाला ...
त्यो अनन्त शक्ति ...
तर
ऊ किन देख्न चाहान्न
त्यो एक ढिक्का संसार ..
त्यो परिधिरहित सौर्यमण्डल ..
अनि त्यो अपार ब्रह्माण्ड नै
जहाँ उसका साँधहरु
स्वत: विलिन ..अस्तित्वहीन छन् ..
ऊ किन किमार्थ
बन्न चाहान्न
तारा ,चन्द्र ,सूर्य जस्तै ..
वा कुनै दियालो नै ...
आजको यस्तो ऊ
के भोलिको
कुनै एक पर्खालको
फगत् एक ढुङ्गा ?

Thursday, April 2, 2009

कक्षाकोठामा

कालोपाटीका सेता...
अाकार अाकारका धर्साहरु,
अश्वेत अनि अँध्यारा
ठूला ठूला क्षेत्रफलहरु
सिमांकित सधैं कति गर्दछन्?
फुस् फुस् सेतो धुलो...
ख्याक् ख्याक्...
रोजी रोटीका निम्ति खोकी
र हातका ती
पहेंला पुराना पानाहरु...
हिजो बेलुका,विगतका बुझाइहरु...
जो पुन: लिपिबद्द छन्...
अाजका जोशिला कागजहरुमा...
खै किन सधैं
यस्तो हस्तान्तरण व्यापार...
बस् पढाउनका लागि पढाइ?
खै के अाकृति छ
ती किताब अनि नोटबुकका
रङ्गी चङ्गी अक्षरहरुमा...
जहां अनिश्चयका भुतहरु...
बेला बेलामा
सल्बलाउँदै झस्काउने गर्दछन्?
उफ् यो अालश्यता...
मेरो अनविज्ञताको
यो अोझेलो...

Saturday, February 21, 2009

म निदाउन सकिनँ

हो...
म अब सुतेँ ;
सुत्न पाउनु मेरो अधिकार हो..
मेरो शारीरिक थकानको
अचुक अाराम हो ;
तर...
मेरो सुताइमा
विवेकको शून्यताको
अाभाष छैन ,
चेतनाको विहानमुक्त
अचेतना छैन ,
मात्रै छन् त
बस्
मानसपटलमा...
उज्जवल आतंकको आँधी..
अभिनाषी क्रान्तिको भ्रान्ति..
अनि ती
भोकाकुल...शोकाकुल
मेरा चाहानाहरु
जो यत्र तत्र
भट्की रहेछन्
बस् तिनै
खोक्रा मादकताको
अर्थहीन खोजीमा...
म विवश छु...
लाग्छ
कुनै एक टेन्सनको पोको हो
यो मेरो जिन्दगी..
जो हरेक रात फुस्किएर
टङ्ल्याङ टुङ्ल्याङ गर्दै
पोखिन्छ मेरो टुसे निद्रामा !
साँचै ..म त
मात्रै पल्टिरहेछु
अभिनव स्वप्नको अभावमा..
अनुपम सुवासको
कल्पनाकृत प्यासमा..
र म
निदाउन सकिनँ ।