Sunday, December 16, 2012

उड्दा उड्दै

यदा कदा कुँजिएका
उसका पंखहरु खुकुलाएर,
पूर्ण फैलाएर
एक चुचुरोदेखि अर्को टाकुरासम्म
हुरिका छालहरुमा हुर्रिँदै
तलदेखि माथि
माथिदेखि अझ माथि
तिव्र तैरिने
निस्फिक्री उडानहरु;
सपनीका
ती मीठा, रोमाञ्चक अध्यायहरु
उसको विपनीका
वास्तविकताहरु नै हुन् ...
ऊ उडिरहेकै छ
र उसलाई
लौकिक जञ्जिरले जकडिएका,
धर्तीमा टाँसिएर
मधुरो पिल्पिलाउने ती नयनहरु
नउडिरहेको देख्न सक्दैनन्।
तर, यो यथार्थ
उसका निम्ति
फगत् एक मिथ्या हो ...
ऊ निसास्सिएको छ।
आकाशका भत्किएका भित्ताहरु
उसलाई अँठ्याइरहेछन्;
ती मुलायम बादलु स्पर्शहरु
उसलाई कोत्रिरहेछन् ...
वतासमा घस्रिरहेको ऊ
अझै स्वतन्त्रता चाख्ने
चेष्टा राख्छ,
अझै ती आलौकिक शाङ्ला चुँडाल्ने
चाहाना पोख्छ,
अझै उड्ने सपना देख्छ
र हानिन्छ
अन्नतको त्यो
असिमित शून्यतातर्फ।

Sunday, June 3, 2012

मेरो आज्ञाकारी सिउरी

मेरो सानो कोठामा
छरिएका वृहत् कृत्रिमता
देखेर म त्यसै दङ्ग छु।
वैज्ञानिक विलाशिताको
भोग गर्ने भाग्य जुराइदिने
ईश्वरप्रति कृतज्ञ
एक मानवका नाताले
स्वनिर्मित केही
बनाउनुपर्यो भनेर
शिशाको टेबुलमाथि
प्लाष्टिकको गमलामा
कुहिएको गोबर, आलो माटो मोलेर
सिर्जना गरिएको
सानो धर्तीको टुक्रामा
म एक बित्ते सिउरी रोप्छु।
म देख्छु
त्यो सिउरी
एक दिउरी पानी हाल्दा
कति मख्ख हुन्छ, कुत्कुतिन्छ
नाच्छ, रमाउँछ, हँसाउँछ...
अनि 'हजुर! हजुर!' पनि भन्छ,
मानौँ ऊ मेरो चाटुकार नै हो
मेरो दुविधाको सुविधा।
कुनै विचार आउँछ,
एक पोको हावा
फु गरेर ऊपट्टि धकेल्छु,
ऊ तल माथि हल्लिन्छ
र भन्दिन्छ 'विचार ठीक छ'।
कहिलेकाहीँ कतैबाट
बाह्य वैचारिक मन्थनको समीर चल्छ,
मेरो सिउरी दायाँ बायाँ हल्लन्छ;
म झ्याल बन्द गर्छु,
पुन: फुक्न थाल्छु
र अन्त्यमा म ऊबाट
'हजुर' नै उघ्राउँछु।
मद्वारा निर्मित ऊ मेरो नयाँ साथी,
गमलाभित्र स्वतन्त्र,
मेरो अहँकारप्रति वफादार,
मेरो कृत्रिमताको आज्ञाकारी,
मेरो सिउरी।


कस्तो राम्रो प्रारब्ध!