Thursday, October 14, 2010

ऊ विक्रीमा छ

सहरमा घाम डुबेपछि,
मसानघाटमा कन्दमुल
खोस्रिँदा खोस्रिँदा थाकेपछि,
वागमतीमा बगेको क्लेश
अनि आफ्नो अनकण्टार देश
मनमा सजाउँदै
ऊ आफ्नो वरपर
सल्किन आँटेका
रहरका उज्याला विन्दुहरुमाझ
दुई-चार तिर्खाका धागा गाँसेर
भरेको स्वप्न कंकाल
बुन्न थाल्छ,
अनि त्यसै टोलाउँछ...
कुनै दिन तिनै झिलिमिलिहरु
उसले उडेर छुन खोजेका
चन्द्र र तारा हुने गर्दथे।
कति सटिक थियो
उसको त्यो सोचाइको यात्रा।
उसका रसीला, मीठा
ती विगतका सपनाहरु...
तर खै के भयो...
उसले गर्न सकेन,
वा त्यो रुखो सहरले
उसलाई गर्न दिएन,
वा उसको दरिद्र भाग्यमा नै
त्यो थिएन...
उत्तरका प्रस्फुटनहरु
मैलो हातको
चाम्रो, बासी पाउरोटी चुँड्दै
ऊ निख्लै निलिदिन्छ,
अनि ऊ यसो सम्झन्छ
आफ्नो भोलिको मोल मोलाई
किनकि ऊ विक्रीमा छ ।
ऊ केहि हलुङ्गा नोटहरुमा
विक्री हुन सक्ने रापिलो ऊर्जा हो
जो केहि शिशा फोरेकै भरमा
त्यो सहरको नक्सा बदल्न सक्छ ।
जो केहि टायर बालेकै भरमा
त्यो सहरको दम्भ गलाउन सक्छ ।

4 comments:

Indu Sharma said...

Its good, however it would be better if all the paragraphs are linked well and confined to the topic.

Biswas Parajuli said...

Thank you dai, for the suggestion. Will try to improve on that.

RRijal said...

गजब लाग्यो कविता !
ऊ केहि हलुङ्गा नोटहरुमा
विक्री हुन सक्ने रापिलो ऊर्जा हो

Biswas Parajuli said...

धन्यवाद रविन्द्र !