Wednesday, October 14, 2009

सहीद हुनु छैन आमा

एक अपरिचित मित्रमार्फत प्राप्त ...उहाँको भावनाको 'प्रतीक' .. यो कविता ,जसको 'अधिकारी ' स्वयम् उहाँ नै हुनुहुन्छ

सुन आमा, तिम्रो छोरो शहीद हुनेछैन |
ऊ त हुनेछ आँधी,
देश चिरेर सपरिवार वनविहार गर्न हिड्ने निरोपुत्र जनकका
ज्वलन्त राँकाहरु निभाउने आँधी |
ऊ त हुनेछ अग्नि,
राजमार्ग छेऊ दिनहुँ अस्मिताको ब्यापार गर्ने सीताको
सतित्वको परीक्षा लिने अग्नि |
ऊ त हुनेछ भेल
रातको दोश्रो प्रहरमा बागमती चोरी काठमाडौँ डुबाउने शंखधरलाई
बगाएर लाने भेल |
ऊ त हुनेछ मुङ्ग्रो
चाणक्य, कौटिल्यका पाउ मोल्ने हाम्रा अन्शुवर्माहरुका
कोमल हात किच्याउने मुङ्ग्रो |
ऊ त हुनेछ आवाज
राम शाहका शब्द बोकी बहिरा कानका माकुराका जालीलाई
चिर्ने गगनभेदी आवाज |
ऊ त हुनेछ हेम्लक
बीयरको चुस्की लगाई भाडाको चिन्तन गर्ने सुकरातहरुको
सांस रोक्ने तातो हेम्लक |
ऊ त हुनेछ पहिरो
लाश को सगरमाथा चढ्न खोज्ने तेन्जिंग अनि पासांगहरुलाई
सोत्तर पार्ने पहिरो |
ऊ त हुनेछ ऐना
पद्लोलूप हुन पुगेका हाम्रा घाटे भीमसेन थापाहरुलाई
बुढ्यौली को भान गराउने ऐना |
ऊ त हुनेछ कोदालो
सुस्ता, कालापानीमा गढ छोड्ने हाम्रा बलभद्रहरुको
चिहान खन्ने कोदालो |
ऊ त हुनेछ ताप
उधारोको कला र भाषा थोपर्ने अवसरवादी अरनिकोहरुको
सिर्जना खरानी पार्ने ताप |
ऊ त हुनेछ भूकम्प
जनता को टाउकामा हरदम बूट बजार्न उद्यत भक्ति थापालाई
धराशायी बनाउने भूकम्प |
ऊ त हुनेछ तरङ्ग
पहिचान खतरामा पर्दा भाषा प्रयोग गर्न हिच्किचाउने भानुभक्तको
जिब्रो जलाउने बिजुली को तरङ्ग |
सुन्यौ आमा? राहत को सास फेर
कम से कम तिम्रो छोरो शहिद त भएर मर्ने छैन |
नरोऊ आमा, म शहीद हुने छैन ,
शहीद त आजकल,
घरझगडामा कुटियेर, गाडीबाट किचियेर,
झड़पमा मारियेर, बेपत्ता पारियेर,
दिनदिनै लाखौको भीडमा मिसियिरहेछन,
सरकारी क्षतिपुर्तिको मोहताज भएर |
र, अन्त्यमा बिलाईरहेछन कुनै स्मारकको
भित्तामा खुइलिएको नाम भएर |

Sunday, October 11, 2009

ऊ दियालो बन्नुपर्छ

रुखा ,अँध्यारा
पर्खालहरु माझ
आज उसका
जिज्ञासु आँखाहरु
सिमानाहरु नियाल्दैछन् ।
साँधभित्रका ... बाहिरका
अन्य साँधहरुबीच
कुनै मैदान खोतल्दैछन्
उसका जोशिला हातहरु ...
मानौँ युवा आगो
कतै झिल्सिहाल्न उत्सुक छ
सल्किहाल्न इच्छुक छ ...
त्यो तेज ज्वाला ...
त्यो अनन्त शक्ति ...
तर
ऊ किन देख्न चाहान्न
त्यो एक ढिक्का संसार ..
त्यो परिधिरहित सौर्यमण्डल ..
अनि त्यो अपार ब्रह्माण्ड नै
जहाँ उसका साँधहरु
स्वत: विलिन ..अस्तित्वहीन छन् ..
ऊ किन किमार्थ
बन्न चाहान्न
तारा ,चन्द्र ,सूर्य जस्तै ..
वा कुनै दियालो नै ...
आजको यस्तो ऊ
के भोलिको
कुनै एक पर्खालको
फगत् एक ढुङ्गा ?

Thursday, April 2, 2009

कक्षाकोठामा

कालोपाटीका सेता...
अाकार अाकारका धर्साहरु,
अश्वेत अनि अँध्यारा
ठूला ठूला क्षेत्रफलहरु
सिमांकित सधैं कति गर्दछन्?
फुस् फुस् सेतो धुलो...
ख्याक् ख्याक्...
रोजी रोटीका निम्ति खोकी
र हातका ती
पहेंला पुराना पानाहरु...
हिजो बेलुका,विगतका बुझाइहरु...
जो पुन: लिपिबद्द छन्...
अाजका जोशिला कागजहरुमा...
खै किन सधैं
यस्तो हस्तान्तरण व्यापार...
बस् पढाउनका लागि पढाइ?
खै के अाकृति छ
ती किताब अनि नोटबुकका
रङ्गी चङ्गी अक्षरहरुमा...
जहां अनिश्चयका भुतहरु...
बेला बेलामा
सल्बलाउँदै झस्काउने गर्दछन्?
उफ् यो अालश्यता...
मेरो अनविज्ञताको
यो अोझेलो...

Saturday, February 21, 2009

म निदाउन सकिनँ

हो...
म अब सुतेँ ;
सुत्न पाउनु मेरो अधिकार हो..
मेरो शारीरिक थकानको
अचुक अाराम हो ;
तर...
मेरो सुताइमा
विवेकको शून्यताको
अाभाष छैन ,
चेतनाको विहानमुक्त
अचेतना छैन ,
मात्रै छन् त
बस्
मानसपटलमा...
उज्जवल आतंकको आँधी..
अभिनाषी क्रान्तिको भ्रान्ति..
अनि ती
भोकाकुल...शोकाकुल
मेरा चाहानाहरु
जो यत्र तत्र
भट्की रहेछन्
बस् तिनै
खोक्रा मादकताको
अर्थहीन खोजीमा...
म विवश छु...
लाग्छ
कुनै एक टेन्सनको पोको हो
यो मेरो जिन्दगी..
जो हरेक रात फुस्किएर
टङ्ल्याङ टुङ्ल्याङ गर्दै
पोखिन्छ मेरो टुसे निद्रामा !
साँचै ..म त
मात्रै पल्टिरहेछु
अभिनव स्वप्नको अभावमा..
अनुपम सुवासको
कल्पनाकृत प्यासमा..
र म
निदाउन सकिनँ ।

Monday, October 20, 2008

म र मेरो पंखा

विहान घाम उदायो...
ब्युँझेँ...
अनि मैले सम्झेँ
अाफुलाई....मेरा वास्तविकताहरु...
तर
ब्युँझिएको रहेनछु...
ब्युँझाइएको रहेछु..
पहिलो लेक्चर सुन्नुपर्ने
वाध्यताद्वारा...
विरोध गर्न सक्दिन।
यता उता
धमिला भित्ताहरु...
माथि
पंखा घुमिरहेछ...
यो सधैँ घुमिरहन्छ..
सुसेली रहन्छ..
त्यो सानो सानो
हुरीको धुन,
जसमा के ...?
माया ...पीडा... रोदन
बुझ्ने चेष्टा गर्दिन..
किनकि यो मेरो अनविज्ञता
मेरो शक्ति हो...
मेरो गर्मीको शीतलता हो...
मेरा अधिनायकवादी औँलाहरु
उसको रेगुलेटरका
चालक हुन्...
मेरो दास हो,

मेरै अधिनायकवादी परिस्थितिहरुको
एक विवश गुलाम हुँ।

Saturday, August 9, 2008

चित्रभित्र आकाशमा

अदृश्य क्षितिजसामु
कोही उभिएर
अनन्त आकाशको संकुचन
च्यातिएरह‍ेछ अनि
केही खाेजिरहेछ
त्याे निलाे गहिराइमा ..
त्याे अपार साँधहीनताबीच,
जहाँ स्वयम् बिलाइरह‍ेछ ..
जहाँ सबै हराइरहेछन्
जहाँ
हराउनु बाध्यता हो |
..त्यहाँ कोही
केही गुंजन
पछ्याइरहेछ
अनि मागिरहेछ
त्यो निर्वाध स्वतन्त्र उडान
जसलाई हुरीको वेग स्वीकार्य छ...
जसमा
चट्याङ्गका हरेक गर्जन
पाखा पाखामा रेटिने
सारंगीका अाँसु बन्छन्
ती अल्प पलका
उज्यालाहरू...क्षणिक झल्काहरू
कालरात्रिमा
त्यो अनिश्चित मार्गका
आसपासमा
बल्ने बत्तीहरू हुन् |
मुलायम बादालू स्पर्शबीच
त्यो सफर एक भ्रम हो ;
अवादलहरुबीच त्यो
एक क्रान्ति हो ...
जसमा सबै छन्
र कैयाैँ त्रसित
छन्
जो कल्पिरहेछन्
माेडपारिका अनिश्चयहरु
जो साेचिरहेछन्
हाेडभित्रका परिचयहरु...
लक्ष्यको अर्थहीनतामा
उम्लिएका
क्रोधहरू
क्लेष पाेतिएकाे
त्यो सजीव चित्रका
अवान्छित् टाटा
हुन् |
तर कोही ..
चित्रभित्र आकाशमा ..
त्यो सपनीको अमुर्ततामा ..
आफैँलाई खाेजिरहेछ ,
बाँच्नुकाे अर्थ काेट्याइरहेछ|

Wednesday, July 23, 2008

चर्चित कथाहरु

ती सबै
अाजका चर्चित कथा हुन् |
ती कथा हुन्
किनकि तिनमा
पात्रहरुको ब्यथा ...
पात्रहरुको आहुति !
तिनमा परिस्थिति
अनि समयका चोटहरु छन् |
तिनै कथामा
शाेषक समाजका
स्वार्थी
प्रष्फुटनहरु छन् ...
जसका बिष्फोटसंगै
ती एकल चरित्रहरुका
आशा,अाकांक्षा सपनाहरू
क्षतविक्षत छन् ...
यस्त‍ै मार्मिक पीडाहरूमा
बनेका छन् ती
‌‌‍‍चर्चित कथाहरु ;
तिनै
चर्चित कथाहरुमा
बगिरहेछन् यी
मार्मिक पीडाहरू ;
यस्त‍ै कुनै
कथा बन्न चाहान्न !
तिनै दुःखमा जिउन चाहान्न !!