Sunday, December 16, 2012

उड्दा उड्दै

यदा कदा कुँजिएका
उसका पंखहरु खुकुलाएर,
पूर्ण फैलाएर
एक चुचुरोदेखि अर्को टाकुरासम्म
हुरिका छालहरुमा हुर्रिँदै
तलदेखि माथि
माथिदेखि अझ माथि
तिव्र तैरिने
निस्फिक्री उडानहरु;
सपनीका
ती मीठा, रोमाञ्चक अध्यायहरु
उसको विपनीका
वास्तविकताहरु नै हुन् ...
ऊ उडिरहेकै छ
र उसलाई
लौकिक जञ्जिरले जकडिएका,
धर्तीमा टाँसिएर
मधुरो पिल्पिलाउने ती नयनहरु
नउडिरहेको देख्न सक्दैनन्।
तर, यो यथार्थ
उसका निम्ति
फगत् एक मिथ्या हो ...
ऊ निसास्सिएको छ।
आकाशका भत्किएका भित्ताहरु
उसलाई अँठ्याइरहेछन्;
ती मुलायम बादलु स्पर्शहरु
उसलाई कोत्रिरहेछन् ...
वतासमा घस्रिरहेको ऊ
अझै स्वतन्त्रता चाख्ने
चेष्टा राख्छ,
अझै ती आलौकिक शाङ्ला चुँडाल्ने
चाहाना पोख्छ,
अझै उड्ने सपना देख्छ
र हानिन्छ
अन्नतको त्यो
असिमित शून्यतातर्फ।